मौन देबताहरु

आमा!
आज पनि मेरो चुलो बलेन
त्येसैले,
आज फेरि म भोकै सुतें
गाउँको चुलो अझै तातै होला है?
यहाँ त,
शहर भरी दानबहरु छन् आमा!
अर्कै शहरबाट आएका रे!
तिम्ले सुनाउने
दन्ते कथाहरुमा जस्तै डरलागदा
सुन्नु न!
यहाँ त,
मान्छे मार्ने लहर चलेको छ
घर घरमा छिरेर चुलो निभाउंछन आमा!
बलि रहेको दियो निभाउंछन
यिन्ले देखे भने
जिउंदै चिथोर्छन आमा!
त्येसैले,
कोठामै एक्लै लुकें
डराएछ नभन्नु है?
यी सङ आज
तिम्रो ईश्वर पनि म भन्दा बढी डराएका छन्
मैले देखेको भन्दा बढी देखेछन क्यार
उन्ले सोचेको भन्दा बढी भएछ क्यार
त्येसैले,
मन्दिर भित्रै छन् ,
मौन छन्
अचम्म छ आमा!
तिम्रो दन्ते कथामा जस्तो
यहाँ देबता र दानव लड्दैनन्
सत्यले जितदैन
सधै निस्पट्ट अध्यारो
उजेलै हुदैन आमा!
तिम्रो दन्ते कथाहरूमा जस्तो
उजेलै हुदैन।