रत्नपार्कको नाङ्लो

IMG_20150906_134603म,

म नाङ्लो

दाल चामल निफान्ने

म भन्साको नाङ्लो हुन सकिन

समयले अन्तै,

मलाई रत्नपार्क हुत्त्यायो।

सजिन्छु, अलिकति छुर्पीमा

थरी थरी चकलेट र चाउचाउमा

तर शहर,

रु १० को सुर्य रेड

र रु ५ को पराग

अलिक धेरै नै खोज्छ

हो,

शहरलाई निकोटिनको बानी पर्या छ

धुवाँ किन्छ, क्यानसर किन्छ

साहुनी बेच्छिन,

आफै पनि दिनभरिमा

एक  खिल्ली चुरोट,

आधा आधा गरि, दुई पटक तान्छिन

शहर माग गर्छ, उनी बेच्छिन,

र पो त,

साहुनीको

भान्साको कुनो तात्छ

पेट भरिन्छ।

 

साझ पर्छ,

रत्नपार्कमा

रात बेच्ने जीउहरुको लर्को लग्छ

शहरका एक हुल कुकुरहरुलाई

सधैं कार्तिक चलिरहन्छ,

बगलमै रातको मोल तोल हुँदा

साहुनी “राम राम” भन्दै सधैं

घर तिर लाग्छिन

उनलाई शहरको यो लिला

अझै बानी पर्या छैन।

 

साहुनीको पोइ, मेरो साहू,

बेलुकी, पसिना गन्हाएको टोपी

म माथी फाल्छ,

हवास्स लोकल गन्हाएर, आधा मात्तिएर

आफैंलाई पुरै, स्वास्नी माथी फाल्छ,

केही बेर मुर्दामै रमाउछ,

ताकत सक्किएपछी,

लम्पसार भित्ता पट्टि फर्कन्छ, निदाउछ,

साहुनी मतिर हेर्छिन, केही बेर टोलाउछिन,

साघुरो कोठामा,

दुई तिर फर्केर निदाउन गाह्रो छ

तर, साहुनीलाई येसैको बानी पर्या छ

सहि र गलतको उनको जोखाईमा,

लोग्नेको बलात्कार, सहि होला ठान्दै

रात अर्को बिताउछिन

कोख येसरी नै भरिन्छ ठान्छिन

मन बुझाउछिन।

 

भोलिपल्ट फेरि म,

म उही

रत्नपार्कको नाङ्लो

साहुनी फेरि मलाई नयाँ

चकलेट, चाउचाउ र चुरोटमा

सधै झैं सजाउछिन

उता खुल्ला मञ्चमा,

कम्युनिस्ट पार्टीको बरिस्ठ नेता,

चर्को भाषण गर्छ,

साहुनी,

तिन्का कार्यकर्तालाई

र शहरका रमितेलाई

चुरोट पेटीका पेटी बेच्छिन,

भीड संगै उनि पनि आज,

जनमुखी पार्टीको

लोकप्रिय नेताको जय जय कार गर्छिन।